काठमाडौँ : हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।
केही दिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका परियारलाई दलित क्लस्टरअन्तर्गत पहिलो नम्बरमा राख्दै आज बन्दसूची निर्वाचन आयोगमा पेस गरिएको हो।
परियारलाई पुस ११ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।
यसअघि बुटवलमा पुस ५ गते आयोजित एक कार्यक्रममा आयोजकप्रति गरेको व्यवहार उपयुक्त नभएको भन्दै श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत परियारमाथि कारबाही गरिएको जानकारी दिएका थिए। त्यसलगत्तै परियारले विज्ञप्ति जारी गर्दै आफू निलम्बनमा परेको उल्लेख गरेका थिए।
यता नेकपामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले परियारलाई प्राज्ञिक व्यक्तित्वको रूपमा चित्रण गर्दै यस्ता व्यक्तिहरूको पार्टी प्रवेशले सङ्गठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया