एसियाली खेलकुदमा ८ नेपाली जुडो खेलाडी सहभागी हुँदै

विहीबार, ३२ साउन २०८०
काठमाडौं । चीनको होङ्झाउमा हुने १९ औं एसियाली खेलकुदमा जुडोबाट महिला र पुरुष गरी नेपालका ८ खेलाडी सहभागी हुँदैछन् । नेपाली मार्सल आर्ट विधाको पुरानो खेल जुडोबाट नेपालले अहिलेसम्म एसियाडमा पदक भने हात पार्न सकेको छैन । अहिले इरानी मुलका जर्मन प्रशिक्षक मोहमद मन्सुरीले नेपाली खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । बलिया प्रतिद्वन्द्वीको सामना गर्नु परे पनि प्रशिक्षकको रणनीतिक योजनाअनुसार खेलेर यस पटक पदक जित्ने दाउमा नेपाली खेलाडी छन् । २०२६ सालमा पुलिस एकेडेमीबाट नेपालमा जुडोको सुरुआत भएको हो । २०३५ सालदेखि नेपाली सेनाले पनि जुडो खेल्न सुरु गर्‍यो । तर २०४० सालदेखि नेपालमा यो खेल लोकप्रिय बन्यो । सन् १९९४ मा भारतको बेङ्लोरमा भएको सातौं दक्षिण एसियाली खेलकुदमा नेपालले ४ स्वर्ण हात पार्दा ३ स्वर्ण जुडो खेलाडी नै दिलाएका थिए । सिलोङमा भएको १२ औं सागमा पनि फुपुल्याह्मु शेर्पाले जुडोबाटै स्वर्ण दिलाइन् भने १३ औं सागमा घरेलु म्याटमै पुनम श्रेष्ठ र देविका खड्काले स्वर्ण जिते । एसियाडमा अहिलेसम्म नेपालले पदक जित्न नसके पनि यस पटक प्रशिक्षक मन्सुरीले खेलाडीलाई प्राविधिक र रणनीतिक रुपमा तयार पारिरहेका छन् । एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका ८ मध्ये ३ खेलाडी नया छन् । बाँकी ५ जना अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव हासिल गरिसकेका छन् । एसियाडमा चीन, जापान, इरान, कीर्गिस्तान, उज्वेकिस्तानलगायत देशका खेलाडीलाई बलिया मानिन्छ । ती राष्ट्रका खेलाडीको चुनौति पन्छाउन लामो प्रशिक्षणसागै सन्तुलित आहार पनि चाहिन्छ । तर सरकारले उपलब्ध गराएको दैनिक दुई हजार रुपैयाले बन्द प्रशिक्षणमा खान र बस्नै खेलाडीलाई अपुग छ । यस पटकको एसियाडमा जुडोमा सहभागी हुने इन्द्रबहादुर श्रेष्ठ र देवकीमाया श्रेष्ठ सहोदर दाजु-बहिनी हुन् । इन्द्रले यसअघि एसियाडमा प्रतिस्पर्धा गरिसकेका छन् भने देवकीका लागि एसियाड पहिलो अनुभव हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार