काठमाडौं । चार देशीय टी-ट्वान्टी आई शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टिमले आज हङकङसँग खेल्दैछ । मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ । आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ ।
आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको हो। यसअघि हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा नेपाल र हङकङ खेल्ने तालिका भए पनि वर्षाका कारण खेल रद्द भएको थियो। त्यसअघि एसीसी महिला टी-ट्वेन्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको थियो।
आज सुरु हुने शृंखलाको उद्घाटन खेलमा आयोजक मलेसियाले कुवेतको सामना गर्नेछ। नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते कुवेत र लिग चरणको अन्तिम खेलमा ८ गते मलेसियासँग खेल्नेछ। समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् भने पुछारका दुई टिमले तेस्रो स्थानका लागि खेल्नेछन्।
यो शृंखला नेपालका लागि ब्याटिङ र फिटनेस सुधारको अवसर पनि हो । नेपाल क्रिकेट संघले भारतीय देविका पाल्सिखरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेपछि नेपालले पहिलो प्रतियोगिता खेल्दैछ ।
सामसङजंग थापाको मूख्य प्रशिक्षणमा रहेको नेपाली टिममा तीन नयाँ खेलाडी छन्। नेपाली टिमले शृंखलापछि थाइल्यान्डसँग एउटा अभ्यास खेल खेल्ने तालिका छ। एसिया क्षेत्र छनोट आगामी भदौ १४ गते मलेसियामै सुरु हुँदैछ। यही छनोटको लागि नेपाली टिम गत साउन ३२ गते मलेसिया गएको थियो। घरेलु मैदानमा १२ दिनको अभ्यासपछि नेपाली टिम मलेसिया गएको हो।
प्रतिक्रिया