काठमाडौं । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।
समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । यसअघि ब्याटिङमा देखिएको समस्या यस खेलमा नेपालले केही हदसम्म सुधार गर्यो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे ।
२८ बल खेल्दै ४ चौकासमेत प्रहार गरेकी काजललाई सातौं ओभरको अन्तिम बलमा कतारकी सबिजा पनायानले बोल्ड गरे । त्यसपछि सीता र इन्दु मिलेर नेपाललाई जितसम्म पुर्याए । यी दुईले अविजित २८ रनको साझेदारी गरे । इन्दुले १२ बल खेल्दै ३ चौका मदतमा अविजित २० रन बनाइन् । यस्तै सीताले २३ बलमा अविजित १७ रन बनाइन् ।
त्यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो । कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।
नेपालका लागि किफायती बलिङ समेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलमा विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए । सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया