काठमाडौं । एसिया कपको छैटौँ खेल आज अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । समूह ‘बी’को सुपर फोर दौड रोमाञ्चक बनेको छ । अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्दै बंगलादेश सुपर फोर मा छनोट भइसकेको छ ।
एक स्थानका लागि श्रीलंका र अफगानिस्तान आज भिड्दै छन् । एसिया कपमा श्रीलंकाको यो दोस्रो खेल हो । उसले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
यस वर्ष जुनमा एक दिवसीय ढाँचामा दुवै टोली आमनेसामने भएका थिए । श्रीलंकाले तीन खेलको एक दिवसीय शृंखला २–१ ले जितेको थियो । श्रीलंकाले पछिल्लो ११ एक दिवसीय खेल जितेको छ । श्रीलंका लगातार १२ औं जितको खोजीमा छ । अफगानिस्तानले पछिल्ला पाँच ओडीआई खेलमा जित हात पार्न सकेको छैन । अफगानिस्तान र श्रीलंकाबीच हालसम्म १० ओडीआई खेल भएका छन् । जसमध्ये श्रीलंकाले ६ र अफगानिस्तानले ३ खेल जितेको छ ।
लाहोरमा वर्षाको न्यून सम्भावना छ । तर कुनै कारण दुई टोलीले अंक बाड्नु पर्ने अवस्था आए श्रीलंका सुपर फोरमा पुग्ने छ । अफगानिस्तानलाई सुपर फोरमा पुग्न ठूलो अन्तरको जित आवश्यक हुनेछ ।
प्रतिक्रिया