भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने

मंगलबार, २६ भदौ २०८०
भद्रपुर। अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए । झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नकआउट चरण प्रवेशपछि प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार