एसियाड : बक्सिङमा रविन विजयी

सोमबार, ०८ असोज २०८०
काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स (एसियाड) अन्तर्गत तेस्रो दिन सोमबार बक्सिङमा रविन थापा र तेक्वान्दोका अन्जली तामाङले एक खेल जित्ने बाहेक अन्य सबै खेलमा नेपाली खेलाडी पराजित भए । रविन आफ्नो स्पर्धामा अन्तिम १६ मा पुग्दा अन्जली भने सोमबारै अर्को खेलमा पराजित हुँदै बाहिरिसकेकी छन् । यी दुई बाहेक व्यक्तिगत र समूहगत खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । पुरुष बक्सिङमा नेपालका रविन थापाले पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे । हान्झाउ जिम्न्यासियममा भएको खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् । रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् । तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् । महिला ४९ केजीमुनी अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारेपनि अन्तिम १६ को खेलमा पराजित भइन् । महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग १२–०, १०–० ले पछि परिन् । पुरुष ५८ केजीमुनी राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग पराजित भए । कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए । जुडोमा सोमबार प्रतिस्पर्धा गरेका नेपालका सबै तीन खेलाडी पराजित भएका छन् । जिओसान लिम्पु जिम्न्यासियममा भएको खेलमा नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार