लक्ष्मीधापमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

शुक्रबार, १२ असोज २०८०
झापा । झापाको अर्जुनधारा– ११ स्थित लक्ष्मीधाप स्पोर्ट क्लबको आयोजनामा यही असोज २७ गतेदेखि ‘प्रथम लक्ष्मीधाप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता– २०८०’ हुने भएको छ । स्थानीयस्तरमा रहेका युवाहरुलाई लागूपदार्थको प्रयोगबाट टाढा राख्न तथा लक्ष्मीधाप क्षेत्रलाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा पहिचान कायम गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको पत्रकार भेटघाटमा क्लबका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए । स्थानीय लक्ष्मीधाप खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठ वटा टिमको सहभागिता हुने क्लबका सल्लाहकार एवम् आर्थिक समितिका संयोजक टेकराज सुब्बाले जानकारी दिए । सहभागी अन्य टिमहरुमा बिर्तामोड युनाइटेड फुटबल क्लब, शनिश्चरे फुटबल क्लब, काँकरभिट्टा ट्रेनिङ सेन्टर, सताक्षीधाम स्पोर्टिङ क्लब, जलथल फुटबल क्लब, न्यूस्टार फुटबल क्लब र ब्रदर युनाईटेड फुटबल क्लब रहेका छन् । कात्तिक ४ गते विजयादशमीको फूलपातीका दिन सम्पन्न हुने प्रतियोगिताको विजेता र उपबिजेता टिमले नगद पुरस्कार ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाँच हजार र ट्रफी तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही नगद पुरस्कार तीन हजारसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गर्नेछन् । अनुमानित सात लाख ४१ हजार तीन सय रुपैयाँ खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न क्लबको आन्तरिक स्रोतसँगै प्रायोजक, सहप्रायोजक, विभिन्न सहयोगी संघ–संस्था, सहयोगी दाता महानुभावहरुबाट आर्थिक सहयोग संकलन गरिने आर्थिक समितिका संयोजक सुब्बाले जानकारी दिए । झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगिता नाइन साइडको फर्मेटमा हुने बताइएको छ । क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव रुद्रप्रसाद दर्जीले गरेका थिए । प्रतियोगिताबाट बचत भएको रकम स्थानीयस्तरमा फुटबल खेलको प्रबद्र्धनसँगै खेलाडी उत्पादन गर्ने कार्यक्रममा लगानी गरिने अध्यक्ष राईले दावी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार