झापा । अर्जुनधारा–९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा आगामी कात्तिक १८ र १९ गते प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता– २०८० हुने भएको छ ।
स्थानीय आधारभूत विद्यालयको प्राङ्गणमा हुने उक्त प्रतियोगिता युवाहरुलाई विभिन्न किसिमको विकृति र विसंगतीबाट मुक्त गर्दै स्वस्थ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको डोजोका सल्लाहकार मोहन पौडेलीले बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा बताए ।
नेपाल कराते महासंघ झापाको प्राविधिक सहयोग रहने प्रतियोगितामा नेपालसहित छिमेकी देश भारत र भुटानका पाँच सय जनाभन्दा बढी खेलाडीको सहभागिता रहने डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अन्तर्गत पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६०+ तथा महिलातर्फ २५, ३०, ३५, ४०, ४२, ४७, ५२, ५७, ६०, र ६०+ तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ४० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ । अर्जुनधारा नगरपालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था तथा सहयोगी दाता महानुभावहरुसँग आवश्यक खर्चका लागि समन्वय गरिने डोजोका अध्यक्ष नारदमणि नेपालले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताबाट बचत भएको रकमले खेलाडीहरुको लागि आवश्यक कभर्ड हलसहितको सामुदायिक भवन बनाउने डोजोको लक्ष्य रहेको छ । डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–८ का वडाध्यक्ष एवम् करातेका एकेएफ रेफ्री कुमारप्रसाद उप्रेती, अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं, महासंघ झापाका अध्यक्ष जगन कार्की लगायतले प्रतियोगिता सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डोजोका सल्लाहकार पौडेलीले प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन अर्जुनधारा प्रेस क्लवका सचिव नरेश खातीले गरेका थिए ।
प्रतिक्रिया