बैदेशिक रोजगारीका नाममा २५ करोड ठगी

मंगलबार, २६ मंसिर २०८०
झापा । म्यानमार लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बाँसबारी घर भएका ३६ वर्षीय बुद्ध लामालाई बन्धक बनाएको आरोपमा पक्राउ गरिएको मानव बेचबिखन व्युरोका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । थाइल्यान्डमा ‘अंग्रेजी ट्रान्सलेटर’को काम लगाइदिन्छु भनेर आरोपीले नेपाली नागरिकलाई म्यानमारको म्यावडीस्थित कम्पनीमा लगेर अनलाइन ठगीमा लगाएको आरोप छ । आरोपीले पीडितहरूसँग १ लाख ५० हजार लिएर म्यानमार पठाएपछि त्यहाँ अनलाइनमार्फत युरोपियन र अमेरिकालाई ट्र्यापमा पारेर बिट क्वाइनमा लगानी गर्ने नाममा ठगी गर्ने तालिम दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनलाइनमा मार्फत अमेरिकन र युरोपियनलाई लगानी गराउन र ठग्न आरोपीहरूले पीडितलाई ‘टार्गेट’ दिने गरेका थिए । तोकेको टार्गेट नपुगे उनीहरुले करेन्ट लगाउने र मानसिक यातना दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । एक जना पीडित नेपाली १० महिना पछि नेपाल फर्कन म्यानमारमा आठ लाख तिर्न बाध्य भएका थिए । घटनामा संलग्न अन्य आरोपीहरूको खोजी भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए । त्यसो त पछिल्लो ६ महिनामा बैदेशिक रोजगारीका नाममा २५ करोड रुपैयाँ ठगी भएको खुलेको छ । वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा परेको उजुरीलाई मात्रै हेर्ने हो भने पीडितले २५ करोड २८ लाख ८९ हजार ६१३ रुपैयाँ ठगिएको भन्दै क्षतिपूर्तिस्वरूप रकम दिलाइदिन अनुरोध गर्दै निवेदन गरेका छन् । विभागको तथ्याङ्क अनुसार ठगी सम्बन्धी ८ सय ६१ उजुरी परेका हुन् । २०८० असार ४देखि मंसीर २४ गतेसम्मको अवधिम उक्त उजुरी परेका छन् । बितेको साढे ६ महिनामा वैदेशिक रोजगारीमा ठगी सम्बन्धी २६९ संस्थागत र ५९२ व्यक्तिगत उजुरी परेका छन् । व्यक्तिगत रूपमा परेका ५९२ उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ । व्यक्तिगत उजुरीमध्ये उक्त अवधिमा ६८ वटामा मिलापत्र गरिएको छ ।  मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार एक सय रुपैयाँ पाएका छन् । व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ । अदालतमा दायर मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ । संस्थागत रूपमा परेका २६९ उजुरीमध्ये १६२मा मिलापत्र गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । मिलापत्र भएका उजुरीमा पीडितले क्षतिपूर्तिवापत दुई करोड ९२ हजार ६ सय १३ रुपैयाँ पाएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार