विराटनगर : विराटनगर महानगरपालिकालाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैँसीलाई निःशुल्क खोप दिने अभियान सुरु गरेको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको उक्त अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने लक्ष्य राखिएको छ । विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा आज आयोजित औपचारिक कार्यक्रमबाट अभियानको शुभारम्भ गरिएको हो ।
विराटनगर–१९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६०० गाई र भैँसी रहेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मोरङका प्रमुख डा अजयकुमार साहले जानकारी दिए ।
पहिलो चरणमा १६ हजार ६०० गाई र भैँसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ । खोप कार्य ‘भ्याक्सिनेटर’मार्फत गराइने र तथ्याङ्क ‘डिजिटल’ प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको छ । मोरङ जिल्लामै तीन लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य छ । त्यस्तै बङ्गुरका लागि ५६ हजार डोज खोप लगाइने डा साहले बताए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी तथा अभियान अघि बढिसकेको छ ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेत रोगमुक्त बनाउन सहयोग पुग्ने दाबी गरिन् ।
कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ । यस अभियानबाट पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन मद्दत पुग्ने प्रदेश सरकारको विश्वास छ ।
प्रतिक्रिया