महोत्तरी/ जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ ।
खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।
“हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला रु” हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन, “मै गरिबको छाप्रो चाहिँ फोर्नु परेछ ।” शुक्रवार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको बिचल्ली भएको छ ।
हात्तीले काठे घरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउछिन । ।
घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उनी सुनाउँछिन् । “माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासि घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो”, माझी शुक्रवार बिहान झिसमिसेको घटना सम्झँदै भन्छिन ।
“चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुँडुल्किएर चाल मारेर बसिरहेँ, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचेँ ।” घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँच/छ क्विन्टल धान छरेको छ ।
राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ । भुजेल पनि आफू कालको मुखबाटै जोगिएको बताउँछन् ।
भुजेल सुतिरहेको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केही बेर हात्तीले लघारेको भुजेलले बताए । दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाए ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए ।
यसअघि गत बुधवार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कँदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो ।
पछिल्ला करिब दुई महिनायता महोत्तरीका वन क्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वन क्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ ।
दिनभर घना जङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् । काठे घरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पु¥याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् ।
यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ । सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ ।
बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वन क्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ ।
यसैबिच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वन क्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्न लागे बिस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ ।
प्रतिक्रिया