सर्लाही । सर्लाहीको बरहथवामा शुक्रवार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
प्रशासनले घटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राखेर आन्दोलित पक्षले शनिवार बिहानसम्म पनि युवकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।
अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रवार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो ।
साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्दै आएका थिए। उनलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।
साहको शव शुक्रवार रातभर घटनास्थलमा रह्यो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेन्द्र पन्जियार थारुले मृतक युवकको शव पोस्टमार्टमका लागि शुक्रवार बेलुकादेखि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने प्रयास गरे पनि स्थानीयले शव उठाउन नदिएका बताए।
उनका अनुसार शुक्रवारको झडपमा घाइते भएका प्रहरी र प्रदर्शनकारीमध्ये प्रहरी सहायक निरीक्षक भिखारी यादवबाहेक अन्य अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते असई यादवको वीरगन्जमा उपचार जारी छ ।
शुक्रवारको झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी राखेको छ । शुक्रवार बेलुका ५ः३० बजेदेखि जारी कर्फ्यु आदेश शनिवार आज बिहान ८ बजेसम्मका लागि तोकिए पनि पुनः समय थप हुन सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले बिहान बरहथवा बजार क्षेत्रको अवस्था सामान्य नै छ । शुक्रवारबाट उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बरहथवामा जिल्लासहित मातहतका प्रहरी युनिटहरूबाट थप मद्दतमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले पनि ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ । बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाले तीन महिना गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै शुक्रवारबाट प्रदर्शन चर्काइएको छ ।
नगरपालिका कार्यालय, नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घर र सवारी साधनमा ढुङ्गा मुढा तथा आगजनी हुन थालेपछि प्रहरीले शुक्रवार गोली चलाएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आन्दोलनकारीहरू ढुङ्गा मुढा गर्दै प्रहरीको हतियार नै खोस्न आएपछि प्रतिरक्षाका लागि गोली चलाउनुपरेको बताए।
प्रतिक्रिया