भालुवाङ दुर्घटना अपडेट : मृतक १२ मध्ये आठजनाको सनाखत, दुई भारतीय नागरिक

शनिबार, २८ पुस २०८०
काठमाडौं / दाङको भालुवाङमा भएको बस दुर्घटनामा परि मृत्यू भएका १२ जना मध्ये दश जना नेपाली र दुई भारतिय नागरिक रहेका छन् । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सातजनाको घटनास्थलमै, चारजनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३०÷३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको मृत्यु भएको छ । रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चारजनाको सनाखत हुन सकेको छैन । उनीहरू करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनालाई नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार