कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय राजीव ढुंगाना, प्रदीप सुनुवार, कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता सीताराम मेहता, कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, कांग्रेस इटहरीका युवा नेता विकास केसीसहितका नेता तथा कार्यकर्ताहरूले जनताको घरदैलोमै पुगेर गुनासो सुनेका थिए ।
उनीहरूले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्दै उचित राहतका लागि पहलसमेत गर्ने बताएका थिए ।
गुनासो सुनेपछि हात्तीबाट मानवीय क्षति हुन नदिनका लागि आफूहरू आ–आफ्नो क्षेत्रबाट जस्तोसुकै काम गर्नपनि पछाडि नहट्ने उनीहरूको प्रतिबद्धता थियो ।
कार्यक्रममा उपस्थित भएका हात्ती सम्बन्धी जानकार अर्जुन कार्कीले हात्तीले बीसौँ वर्षपछि सम्म पनि आफू हिँडेको बाटो हिड्ने र आफूलाई जिस्काउने, चलाउनेलाई आक्रमण गर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । ‘हामी हात्तीको ठाउँमा आएका हौँ, हात्ती हामी भएको ठाउँमा आएका होइनन्,’ उनले भने, ‘मान्छे सुरक्षित रहनका लागि हात्तीलाई जिस्काउन हुँदैन । हात्तीले मानिसको आवाज र गन्धबाट बीसौँ वर्ष पछिसम्म पछ्याउँछ ।’इटहरी १९ का स्थानीय सुरेश राईले हात्तीबाट सुरक्षित हुन सरकारले जनताका पक्षमा काम नगरिरहेकाले सचेत गराए । उनले भने, ‘मोरङ र झापामा के भइरहेको छ थाहा छैन । तर, हाम्रो समस्यामा स्थानीय सरकारले सम्बोधन गरेको छैन ।’ आफूहरू दिनभर काम गरेर आउनुपर्ने र साँझमा घर आउँदा रातभर हात्ती धपाउँदै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ । ‘बजारमा बस्नेहरूलाई त केही छैन, हामी गाउँमा बस्नेहरूलाई हात्ती खेद्नुपर्ने बाध्यता छ,’ उनले भने ।
इटहरी २ का ध्रुव अधिकारीले साँझ ४ बजेदेखि नै हात्ती धपाउनुपर्ने बाध्यता रहेको बताए । ‘घर बाहिर निस्किदा मार्छ कि भन्ने डर छ । घर भित्र बसौँ, मानव बस्तीमा पस्ला कि भन्ने डर छ,’ उनले भने, ‘हात्ती मानव बस्तीमा पस्न नदिनका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।’पछिल्लो समय इटहरी क्षेत्रमा दुई दर्जन बढी हात्तीको बथान आउँदा मानव बस्ती रातभर जाग्राम बस्दै आएका छन् । खासगरी भारतबाट आएका जंगली हात्तीको बथान यतै रमाउँदा समस्या हुँदै आएको छ ।
प्रतिक्रिया