इलाम, माघ : इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिका प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा सूर्योदय नगरपालिकालाई शून्यका विरुद्ध दुई गोल गर्दै माई नगरपालिकाले सेमिफाइनलको यात्रा पक्का गरेको हो । जितका लागि सन्दीप राईले ६२ मिनेट र मनबहादुर मगरले ६८ मिनेटमा गोल गरेका थिए । सूर्योदय नगरपालिकाका तर्फबाट गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच गोल गर्ने खेलाडी मनबहादुर घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा फाकफोक थुम गाउँपालिकालाई ट्राइबेकरमा तीन गोलका विरुद्ध पाँच गोल गर्दै चुलाचुली गाउँपालिकाको टिमले सेमिफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट दुई दुईको बराबरी भएपछि ट्राइबेकरबाट नतिजा लिइएको थियो । जसमा फाफोकथुमका तर्फबाट तीन गोल मात्र गर्यो । अन्ततः प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको म्यान अफ दि म्याच चुलाचुलीका गोल रक्षक किश्मत लिम्बू घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे ।
बुधवारको पहिलो खेल मध्यान्न १२ बजे फाल्गुनन्द गाउँपालिका पाँचथर र इलाम नगरपालिका र दोस्रो खेल रोङ र सन्दकपुर गाउँपालिकाबिच हुने देउमाई पोस्टिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ । प्रथम हुने टिमले नगद दुई लाख पाउने छ भने दोस्रो हुने टिमले एक लाख नगद पाउने छ ।
प्रतिक्रिया