इटहरी ५ पचरुखीमा रहेका दाजु भाउजूको घरमा काम गर्न बाँकी रहेको भन्दै भीम काम गरेर फर्कँदै गरेका थिए । मिस्त्री काम गर्ने भीमको सिमेन्ट धेरै प्रयोग गरेकाले हातमा घाउ भएपछि श्रीमती उर्मिलाले शनिवार घरमै आराम गर्नु भनेर सम्झाएकी समेत थिइन । तर ‘दाजुको घरमा एक दिनको काम गर्नु छ पछि काम रह्यो भनेर रिसाउनुहुन्छ’ भन्दै भीम बिहानै काम गर्नका लागि पचरुखी पुगेका थिए ।
काम सकेर फर्किँदै गरेका भीमलाई घर पुग्नै लाग्दा सफारीमा रहेका उमेशले साइकलबाट लडाएर दाउ प्रहार गरेका थिए । पहिलो पटक दाउले लागेर घाइते भएका भीमले हात जोड्दै नर्मान भन्दै भागेका थिए । खेतमा पुगेर लडेका भीमलाई पुनः उमेशले सोही दाउले हानेर त्यही बीभत्स हत्या गरेका थिए ।
गत वैशाख १७ गते पनि इटहरीस्थित बिपी चोकमा उमेशले भीमलाई रडले हानेर घाइते बनाएका थिए । त्यति बेला टाउकोमा गम्भीर चोट लागेका उनलाई समाज नै बसेर उपचार भराइदिन आग्रह गरेपछि उमेशले नै उनको खर्च र बिग्रिएको साइकल समेत बनाइदिएका थिए ।
‘गाउँघरको कुरा हो । गाउँमै मिलाउनुपर्छ भनेर समाज बसेर घटना मिलाइयो । त्यति बेला देखिको रिस अहिलेसम्म आलै रहेछ । निर्दयी र क्रूर व्यवहार देखाए,’ शोकमा रहेकी श्रीमती उर्मिलाले प्रदेश खबरलाई भनिन् । ‘त्यति बेला रडले हानेर घाइते बनाउँदा पनि मारेरै जेल जान्छु भन्थ्यो । शनिवार मारेरै छाड्यो,’ उर्मिलाले भनिन् ।
हत्यापश्चात् अहिले घरमा समेत जान नसकेर श्रीमानको काजक्रिया समेत मूल घरमा गर्दै आएकी उर्मिला अहिले आफ्नै घरमा जान समेत डर भएको बताउँछिन् । फेरी केही भइहाल्ने होकी भन्ने समस्याले गर्दा बुहारीसहित दुई सन्तानलाई मूल घरमै ल्याएको बुवा बिन्देश्वर पण्डितले बताए ।
बुबा बिन्देश्वरले हत्यामा संलग्नलाई आजीवन सजाय दिनुपर्ने माग गरेका छन् । ‘मेरो छोराको परिवार उजाड्यो, काखे नाति नातिनीलाई टुहुरो बनायो । यस्ता अपराधीलाई त्यतिकै छाड्न हुँदैन । हदैसम्मको सजाय दिनुपर्छ,’ बुबा बिन्देश्वरले भने ।
शङ्काकै भरमा हत्या
सोही योजना बमोजिम शनिवार उमेशले दाउ प्रहार गरी भीमको बीभत्स ढङ्गले हत्या गरेको खुल्न आएको छ । हत्याको थप कारणहरू खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।
पक्राउ परेका उमेशलाई पीडित परिवारले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको जनाएको छ । प्रहरीले उमेशलाई सात दिनको म्याद थपी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया