केन्द्रमा जसपा, एकीकृत समाजवादी र लोसपाले मधेस सरकार गठनका विषयमा नेपाली कांग्रेससँग संवाद गरिरहदा केन्द्रीय सत्ता गठबन्धनले भने जनमतलाई अघि सारेको छ ।
सोही अनुरुप जनमतले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए । तर, मधेसमा एमाले, माओवादी र जनमतको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन ।
त्यसको लागि नेकपा एकीकृत समाजवादी र लोसपाको पनि समर्थन जरुरी छ । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उपेन्द्र यादव निकट मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
यादवले विश्वासको मत लिन अगावै विपक्षीदलहरुले दाबी पेश गर्ने तयारी गरेपनि सरकार गठनका लागि आवश्यक बहुमत भने जुटाउन सकेका छैनन् ।
१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ ।
मधेसमा कांग्रेसका २२ , जसपा नेपाल १९, लोसपा ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
सत्ता गठबन्धनको एकीकृत समाजवादीलाई मधेसमा तान्न सके संघको भन्दा विपरीत गठबन्धन बन्न सक्ने अवस्था छ । त्यही प्रयत्नका लागि कांग्रेसको अगुवाइमा अस्ती बुधबार चार दलको बैठक बसेको थियो । त्यहाँ माधव नेपाल पनि सहभागी भएका थिए ।
प्रतिक्रिया