मोरङको सुनवर्षीमा बालकले चलाएको मोटसाइकलले ठक्कर दिँदा पुरुषको मृत्यु

बुधबार, २६ असार २०८१
विराटनगर । मोरङको सुनवर्षीमा मंगलबार राति दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले दुर्घटना गराएको खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले को १ प ६३४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनवर्षी नगरपालिका–६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको बताए । उनका अनुसार पैदल हिँडिरहेका दासलाई मोटरसाइकलले झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा ठक्कर दिएको थियो । झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको मोटरसाइकलले राति ८ बजेतिर ठक्कर दिँदा दास गम्भीर घाइते भए । तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । रंगेली अस्पतालले थप उपचारका लागि विराटनगरको कोशी अस्पताल रेफर गर्यो । थप उपचार गराउन राति ९ बजेतिर विराटनगरतर्फ ल्याउने क्रमममा दुर्घटनाका घाइतेको बाटैमा मृत्यु भएको डीएसपी बस्नेतले बताए । मृत्यु भएपछि शवलाई फर्काएर रंगेली अस्पताल नै लगिएको थियो । शवको पोस्टमार्टम उक्त अस्पतालमै गरिने छ । दुर्घटनालगत्तै मोटरसाइकल लिएर चालक फरार बनेका थिए । खोजतलास तीव्र बनाएको प्रहरीले राति १२ बजेतिर मोटरसाइकल र चालकलाई फेला पारेको थियो । मोटरसाइकल र चालक १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार