त्यसो त इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले यसअघि अस्पतालको मेसिन खरिदका लागि कमिसनमा संलग्न रहेकालाई छानबिन गर्न माग गर्दै पत्रसमेत काटेका थिए । सोही वडामा रहेको अस्पतालले वडाध्यक्षलाई समेत मेसिन खरिद गर्ने कुरा जानकारी नगराइकन ‘सेटिङ’मा मेसिन खरिद गर्न लागेको थियो ।
तर, मेसिन खरिदमा ‘सेटिङ’ रहेको कुरा बाहिरिएपछि रातारात बोलपत्र रद्द गरिएको हो । यसबारे अहिले इटहरी अस्पताल र सम्बन्धित निकाय भने ‘तै चुप मै चुप’को अवस्थामा रहेको स्रोत बताउँछ ।
सिटी खरिदको विषमा वडाध्यक्ष थापाले गत साउन २ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेललाई पत्र काट्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
उनले लेखेको पत्रमा ‘खरिद प्रक्रियाको स्पेशिफिकेशन कुनै एक मात्र कम्पनीले ठेक्का पार्ने गरी सुनियोजित तरिकाले खुलाएको हुँदा यसको मापदण्ड तय गर्ने कर्मचारी र प्राविधिकमाथि छानबिन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने’ माग गरेका थिए ।
अहिले प्रक्रिया रद्द गरे पनि पुनः चाहेकै कम्पनीलाई टेन्डर दिने गरी सिटी स्क्यान मेसिनको टेन्डर गर्ने तयारी रहेको उनको भनाइ छ ।
वडाध्यक्ष थापाले दुईदिन अघि मात्रै नीतिगत भ्रष्टाचार भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । ‘इटहरी अस्पतालको ल्याबको केमिकल र रिएजेन्ट खरिद प्रक्रियामा नीतिगत रूपमा प्रक्रिया मिलाएर भ्रष्टाचार गरेको भेटियो,’ उनले सञ्जालमा लेखेका छन् ।
खासगरी उक्त मेसिन इटहरी उपमहानगरपालिकाको बजेटमा खरिद हुन लागेको थियो । इटहरी अस्पतालले युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर २०८१ जेठ ७ मा सिटी स्क्यान मेसिन खरिदको टेन्डर आह्वान गरेको थियो ।
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले भने हाल अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेका कारण टेन्डर रद्ध गरिएको बताए ।
‘भवन निर्माणाधीन भएका कारण र यसअघि जुन बजेट छुट्याएका थियौँ, बजेट पनि परिवर्तन हुने भएकाले रद्ध गरिएको हो,’ उनले प्रदेश खबरसँग भने, ‘अस्पतालको नाममा मेसिन खरिद गर्दा केही सस्तो पर्ने भएकाले खरिद गर्न लागिएको थियो । तर, सबै योजना नगरपालिकाबाटै भएको हो ।’
उनले इटहरी उपमहानगरको स्वास्थ्य शाखाबाटै योजना बनेको र आफूलाई यसबारे धेरै केही थाहा नभएको जनाए ।
‘यसबारे मलाई पनि धेरै थाहा छैन । अस्पतालको नाममा खरिद गर्दा सस्तो पर्ने भएपनि सबै प्रक्रिया नगरपालिकाकै हो । बाँकी उतैबाट बुझ्नु,’ उनले भने ।
प्रतिक्रिया