विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेशको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढङ्गले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
२०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरूबाट यो कार्यक्रम प्रसारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रसारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रसारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ ।
यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने छ । यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रसारण संस्थाहरूले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रसारण गर्न पाउनु पर्ने माग गर्दै आएका थिए ।
यस्तै मङ्गलवारको मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिती, आन्तरिक मामिला तथा कानूनमन्त्री लीला वल्लभ अधिकारीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।
खानेपानी सिचाइँ तथा ऊर्जा मन्त्रालय अन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सह लगानीबाट कोशी प्रदेशमा सिचाइँ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिचाइँ आयोजनाहरू सञ्चालन हुने छन् ।
त्यस्तै खानेपानी सिचाइँ तथा ऊर्जा मन्त्रालय अन्त्रगतकै जलवायु अनुकूलित वृहद खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
कर्मचारीको सरुवा
विराटनगर । कोशी प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रतिक्रिया