काठमाडौँ : गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्री लेखकले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
सरकारको फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको बताउँदै उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।
गृहमन्त्री लेखकले सत्ता साझेदार दलहरूबीच आगामी दिनमा निरन्तर बैठक बसी जनजीविकालगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको आधारभूत मान्यता छ, त्यसलाई हामीले अङ्गीकार गरेका छौँ, ती व्यवस्थालाई थप सुदृढ गर्न, थप जीवन्त र सबल बनाउने उद्देश्यका साथ संविधान संशोधन गर्ने भनेका हौँ”, उनले भने, “संविधानको अभ्यासबाट देखिएका सबल पक्षहरूको समीक्षा गर्दै सबैका बीचमा राजनीतिक सहमति निर्माण गरेर संशोधनको प्रक्रियामा जाने छौँ ।”
प्रतिक्रिया