बैठकमा सहभागी सडक–पुल सहयोग इकाई कार्यालय कोशीका प्रमुख सूर्यनारायण चौधरीले बस चालकको गम्भीर लापरबाहीका कारण नागरिकको हैसियतले मानिस ढुक्क भएर सडकमा हिँड्न सक्ने वातावरण नरहेको बताए । ‘ड्राइभरलाई लाइसेन्स मात्रै होइन, ओरियन्टेसन आवश्यक छ,’ उनले भने, ‘हिजोको घटनामा ड्राइभरलाई माफी दिने त सवाल नै हुँदैन । ब्याक गरेर किचेर मारेको कुरा छ, यो गम्भीर लापरबाही हो ।’
स्थानीयबासी तथा पत्रकार सन्तोष यादवले पेटी व्यवस्थापन गर्नुपर्ने कुरा उठाए । पालिकाले सडक पेटी व्यवस्थापन गरेमात्रै पनि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ । खासगरी सडक विभागले ६ लेन सडकमा खोलाको डीपीआर बनाउनुपर्ने ठाउँमा, नालाको डीपीआर बनाएको र डिभाइडर नभएको ठाउँमा दुर्घटना बढिरहेको उनले बताए ।
‘जहाँ डिभाइडर छैन, त्यहाँ धेरै दुर्घटना र क्षति भएको छ,’ उनले भने, ‘पालिकाले बजेट नै खर्च नगरीकन पेटी व्यवस्थापन गर्न सक्छ । बरू हामीलाई एक वर्षको उपभोक्ताको बजेट नदिनु, तर पेटी व्यवस्थापन गर्नुपर्छ ।’
कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले बसहरूले सर्भिस लेनबाट चलाउनुपर्ने बाध्यता रहेको बताए । ‘सिटी सफारी चैं हाइवेमा कुदिरहेको छ, अनि बस सर्भिस लेनबाट कुदाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘एउटा होटलका लागि डिभाइडर खोल्ने प्रचलन छ । सडक लेनको प्रयोग कसरी गर्ने भन्नेबारे शिक्षा दिन पनि आवश्यक छ ।’
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले दोषी कोही पनि नउम्किने बताए । ‘लापरबाहीपूर्वक गाडी चलाउने र दोषी जो कोही पनि कारबाहीको भागिदार हुन्छ,’ उनले भने, ‘हामी आफैँ ट्राफिक नियमबारे शिक्षित हुन जरूरी छ । अब टाइम कार्ड लागू भएपछि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।’
प्रतिक्रिया