मुआब्जा र क्षतिपूर्तिको विषयमा भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्याङ्कन गर्ने उनले बताए । ‘क्षतिपूर्तिको मूल्याङ्कन सिडिओको अध्यक्षतामा बसेको बैठकले गर्छ,’ उनी भन्छन्, ‘त्यसबारे पछि बैठक बस्नेछ । अहिले भने प्रमाणीकरणको काम भइरहेको छ ।’
खासगरी बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।
‘साइड क्लियरेन्सको काम सकेको ठाउँमा अहिले सडक काम भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘बत्तीको पोल भने सडक निर्माणसँगै सार्ने काम हुन्छ ।’
उनका अनुसार अहिले रूख कटानको काम सकेर साइड क्लियरेन्स भएका ठाउँमा भने सडक निर्माण भइरहेको छ । हालसम्म ७ प्रतिशत काम सम्पन्न भएको उनले जनाए ।
झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म सडक बनाउने गरी डीपीआर र डिजाइन तयार गरिएको भए पनि तत्काल भने इटहरीको लबीपुरसम्म मात्रै सडक निर्माण हुने जनाइएको छ ।
श्रेष्ठकाअनुसार काँकडभिट्टादेखि इटहरीसम्म पाँच वटा खण्डमा ठेक्का लागिसकेको छ । जसमा सडकबाहेक ६९ वटा कल्भर्ट, तीन सय मिटरभन्दा लामो तीन वटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ ।
जसमा तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण हुनेछ ।
चार लेनमा निर्माण हुने उक्त सडकको कामले गति लिइरहेको श्रेष्ठले बताए । अहिले कल्भर्ट निर्माण र साइडमा वाल लगाउने काम भइरहेको उनले जनाए ।
झापाको सितापुरीदेखि इटहरीको लबीपुरसम्म जम्मा ९५।७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ । दुई खण्डमा कार्यालय स्थापना भएर अहिले धमाधम काम भइरहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
उनका अनुसार पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०।७ किलोमिटर सडकको काम भइरहेको छ । ‘जम्मा ३४ अर्ब ९० करोड रकममा ठेक्का लागेको रकममध्ये एसियाली विकास बैङ्क (एडिबी)को ८४.१ प्रतिशत र १५.९ प्रतिशत नेपाल सरकारको लगानीमा सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘तत्काल इटहरीको लबीपुरसम्म मात्रै बन्नेछ ।
बजेट अभाव र विविध कारणले लौकहीसम्म तत्काल नबन्ने भएको हो । खासगरी त्यस क्षेत्रको पनि डीपीआर र डिजाइन भने तयार भइसकेको छ ।’
सरकारले बजेट थप गरेको अवस्थामा भने लौकहीसम्मै सडक निर्माण हुने उनको भनाइ छ । २०२४ फेब्रुअरी २ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया