काठमाडौँ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रूप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने बनाइएका मोटरसाइकल आज नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो ।
ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन् ।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया