कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा

शनिबार, ११ चैत्र २०७९
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । अधिकारी नेतृत्वको सरकार कामचलाउ भइसकेको ठहर गर्दै कांग्रेसले कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा बढुवा लगायतका निर्णय गर्नु न्यायसङ्गत नहुने भएकाले सो काम नगर्नसमेत आग्रह गरेको छ । बहुमत गुमाइसकेको सरकारले दूरगामी प्रभाव पार्ने कुनै पनि निर्णय नलिन र कार्यान्वयन नगर्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटसहित पहिलो बनेको कांग्रेस केन्द्रमा आएको राजनीतिक समीकरणमा फेरबदलले करिब ३ महिना प्रतिपक्षी बनेको छ । तर राष्ट्रपति निर्वाचन पश्चात् बनेको नयाँ समीकरणका कारण कांग्रेसले गण्डकी सरकारको नेतृत्व लिने अवसर बनेको छ । एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई सत्ता साझेदार दल माओवादी केन्द्रले शुक्रबार औपचारिक रूपमै समर्थन फिर्ता लिएसँगै गण्डकीमा नयाँ सरकार गठनको कोर्स सुरु भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार