इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङलाई

शनिबार, ११ चैत्र २०७९
इटहरी । १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले हात पारेको छ । आज शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई टाइब्रेकरमा पराजित गर्दै साबिक विजेता सगरमाथाले यो वर्ष पनि उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । सगरमाथाका लागि विवेक बर्मा, स्टेफिन विनोङ, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गरे । चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, प्रिसोले गोल गर्दा मनोज राईको प्रहार गोल पोस्टबाहिर गयो । उपाधि जितेसँगै विजेता सगरमाथाले नगद १० लाखसहित ट्रफी हात पारेको छ । उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाखसहित ट्रफीमा चित्त बुझाएको छ । खेलको मेन अफ द म्याज सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की भए । उनले नगद एक लाख पाए । राष्ट्रिय जागृति क्लबको आयोजनामा गत चैत्र ४ गतेबाट भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार