खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

बुधबार, ०२ माघ २०८१
सर्लाही : यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन् । छ वर्षदेखि खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीयवासी काकाकुल बनेका हुन् । वर्षौदेखि पानीको समस्या समाधान नभएको सिद्धार्थ टोल निवासी सरिता लामाले गुनासो पोखिन् । लामाको आँगनमा गाडेको ट्युबेलबाट आर्सेनिकयुक्त पानी आउन थालेपछि उनले ट्युबेलको पानी प्रयोग बन्द गरेकी छन् । हरिवन नगरपालिका–५, निवासी प्रेमशीला कुमारी साहको पनि समस्या उस्तै छ । खानेपानी किनेर खानुपरेको उनले बताइन्  । पानीको अभावमा पशुपालन गर्न समेत नसेकेको उनको गुनासो छ । हाल उपभोक्ता समितिले डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । बोरिङबाट पानी वितरण गर्दा विद्युत्मा खर्च धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोज लामाले गुनासो पोखे । नगर, जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउँछन् । ‘‘वडाको अगुवाइमा हरेक कार्यालयको ढोका ढोकामा पुगेका छौँ’’, उनले भने, ‘‘हुँदैन कसैले भन्नुहुन्न । तर, कहिले हुन्छ रु कसैले जवाफ दिँदैनन् ।’’ पानीको पाइप लाइन र धारासमेत जडान भइसक्दा पनि ‘ओभरहेड ट्याङ्की’ निर्माण नभएको उनको भनाइ छ । सो वडाका नौ सय ९३ घर परिवार पिउने पानीको अभावमा रहेको उनले बताए । यस वडामा क्यान्सरको सङ्क्रमण देखिन थालेपछि अधिकांशले ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो । अत्यधिक आर्सेनिकयुक्त पानी फेला परेको र क्यान्सरको जोखिम  रहेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन, प्रसारण भएपछि प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरू गरेको थियो । प्रदेशको भएको योजना भएकाले ताकेता गर्दा पनि अटेर गरेको नगरपालिका प्रमुख रमेश बुढाथोकीको भनाइ छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा काम सम्पन्न हुन नसकेको बताए । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन गरेकाले छिट्टै काम सम्पन्न हुने उनले जानकारी दिए । प्रमुख साहका अनुसार दुई लाख २५ हजार घनमिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न सङ्घ सरकारले गत वर्षसम्म ८० लाख खर्च गरिसकेको छ । यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु ४० लाख विनियोजन गरेको हो । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साल साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का लिएको थियो । कम्पनीले ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको थियो । उक्त निर्माण सेवाका कार्यकारी निर्देशक रञ्जन सिंहले बजेट सुनिश्चितता नभएका कारण काम समयमै सम्पन्न गर्न नसकिएको बताए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार