उदयपुरमा प्याराग्लाइडिङ दुर्घटनामा परी जापानी नागरिकको मृत्यु

विहीबार, २४ माघ २०८१
उदयपुर : उदयपुरको बेलका नगरपालिका–८, बोप्ताङ डाँडाबाट सोलो प्याराग्लाइडिङ उडान गरेका ७२ वर्षीय जापानी नागरिक काजी ताकासीको दुर्घटनामा परी मृत्यु भएको छ। बुधबार साँझ उडान भरेका ताकासी सप्तकोशी नदी नजिकै रहेको फुटबल मैदानमा खसेपछि गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि उपचारको क्रममा बुधबार नै निधन भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। ताकासीले बेलका नगरपालिकास्थित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कूलको टेकअफ ल्यान्डबाट उडान भरेका थिए। स्कूलका सञ्चालक सुरेन गुरुङका अनुसार उनी घटनाका बेला बाहिर भएकाले विस्तृत जानकारी नभएको बताए। उनले ताकासीले अनुमति नलिई आफ्नो इच्छाले उडान भरेको उल्लेख गर्दै मृत्यु भएको जापानी नागरिकको शव जापान पठाइसकेको दाबी गरे। तर, नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र चाम्लिङ राई (भुपाल) ले भने ताकासीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको जानकारी दिए। संघका अध्यक्ष राईले ताकासी जापानका अनुभवी प्याराग्लाइडिङ प्रशिक्षक रहेको बताउँदै विदेशी नागरिकहरूले नेपाल आउँदा आफ्नो उद्देश्य खुलाएर आउनुपर्नेमा जोड दिए। संघलाई ताकासीको नेपाल आगमन र उडानबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले स्पष्ट पारे। उडानअघि नै ताकासीको नाकबाट रगत बगेको देखिएकाले उनको मृत्यु हृदयाघातका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता दाहालले शव जापान पठाउन कानूनी प्रक्रिया अघि बढाइएको र यसबारे काठमाडौंस्थित जापानी दूतावासलाई जानकारी गराइएको जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार