इलाम : लोकप्रिय नेपाली ब्यान्ड कन्दराले फागुन १६ गते इलामको करफोकमा सांगीतिक प्रस्तुति दिने भएको छ।
सूर्योदय नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सूर्योदय होटल व्यवसायी संघले जनाएको छ। हाल कन्दरा ब्यान्डमा गायक विवेक श्रेष्ठ, संगीतकार सुनिल थापा, गिटारवादक हरि महर्जन, देव लामा, बास गिटारिस्ट पंकज झा, र ड्रमर सुन्दर महर्जन रहेका छन्।
कार्यक्रमबाट संकलित नाफालाई विभिन्न सामाजिक कार्यहरूमा प्रयोग गरिनेछ जसअनुसार करफोक खेल मैदानको मर्मत तथा सूर्योदय नगरपालिकाले घोषणा गरेको ‘खेलकुद वर्ष २०८३’ लाई सफल बनाउन सहयोग पुर्याइनेछ।
साथै ऐतिहासिक पञ्चकन्या मन्दिरको प्रचार-प्रसार तथा मर्मत सम्भार गरिनुका साथै करफोक विद्या मन्दिरका फरक क्षमताका विद्यार्थीहरूका लागि अक्षय कोष स्थापना गरिनेछ।
यसका साथै स्थानीय व्यवसाय, होटल, तथा कृषि उत्पादकहरूलाई प्रोत्साहित गर्दै युवा पुस्तालाई सामाजिक कार्यमा आकर्षित गरी लागुऔषध दुरुपयोग नियन्त्रणमा पनि योगदान गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी गराएका थिए।
कन्दरा ब्यान्डका लोकप्रिय गीतहरूमा लेककी हे माया, तगारोमा रुमाल राखी, जिन्दगी उत्सव हो, हङकङ पोखरा, चञ्चले कान्छीको जोवन, तिमी पारी त्यो गाउँमा, विदेशिएर गइन् उनी, भेडीगोठैमा, प्रियसीको कल्पनामा, विश्वासको दियो जस्ता गीतहरू रहेका छन्।
कन्दरा ब्यान्डले नेपाली संगीतको माध्यमबाट राष्ट्रिय भावना, प्रेम, प्रकृति, र जीवनका विविध पक्षहरू उजागर गर्दै आएको छ। हाल ब्यान्डका प्रमुख सदस्यहरू सुनिल थापा, बुद्धराज बज्राचार्य, र विवेक श्रेष्ठ रहेका छन्।
यस सांगीतिक कार्यक्रमले पर्यटन प्रवर्द्धनका साथै स्थानीय विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
प्रतिक्रिया