काठमाडौं । इसेवाको एकाउन्टमा रहेको पैसा एनआईसी एसिया बैंकको एटिएमबाट निकाल्न मिल्ने भएको छ । इसेवाले प्रयोगकर्तालाई सहजता प्रदान गर्नका लागि एटीएमबाट पैसा निकाल्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हो ।
यसअघिसम्म यो सेवा एभरेस्ट बैंकले मात्रै उपलब्ध गराउँदै आएको थियो । एभरेष्टपछि इसेवाले एनआईसी एसियामा पनि विस्तार गरेको हो ।
कसरी निकाल्न मिल्छ पैसा ?
इसेवाले जनाएअनुसार एटीएम विथ ड्र गर्ने प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इ–सेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एसिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिसभित्र रहेको एटीएम विथ ड्रमा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटिपी आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ ।
यसरी मोबाइल नम्बर र ओटीपीसहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् ।
यसरी रकम निकाल्न दुई सजिला चरणहरू पार गरेर ओटीपीजस्ता विवरणहरू पनि पुष्टि गनुपर्ने भएकाले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाले जनाएको छ ।
प्रतिक्रिया