नब दृष्टि आँखा अस्पतालद्वारा मोरङका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच, ५०० बढी लाभान्वित

बुधबार, ३० माघ २०८१
मोरङ : मोरङ जिल्लाका विभिन्न स्थानहरूमा नब दृष्टि आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरबाट ५०० भन्दा बढी व्यक्ति लाभान्वित भएका छन्। जिल्लाका विभिन्न नगर तथा गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। शिविर अन्तर्गत विभिन्न मितिहरूमा विभिन्न स्थानहरूमा आँखा परीक्षण गरिएको थियो । जसअनुसार माघ २७ गते बेलबारी नगरपालिका ४ नं वडा कार्यालयमा ७९ जना, माघ २४ गते बेलबारी नगरपालिका ११ लक्ष्मी मार्ग स्वास्थ्य चौकीमा ५९ जना, माघ २३ गते केराबारी गाउँपालिका ९ कुसुमेमा ८७ जना, माघ २२ गते केराबारी गाउँपालिका ९ प्रहरी कार्यालयमा १०९ जना, माघ २० गते सुन्दरहरैँचा नगरपालिका १२ मा ९९ जना तथा माघ १५ गते बेलबारी नगरपालिका १ मा ९७ जनाले सेवा प्राप्त गरेका थिए। शिविरमा गरिएको परीक्षणबाट विभिन्न आँखा सम्बन्धी समस्याहरू पहिचान गरिएका छन् जसअनुसार मोतीबिन्दुका ३६ जना, मायोपियाका ९ जना, आँखामा मासु पलाएका ३६ जना तथा सुक्खा आँखाका ४७ जना रहेका छन्।
शिविरमा आँखा परीक्षण र औषधी निःशुल्क रहेको थियो भने मोती विन्दु भएका बिरामीहरूलाई निःशुल्क मोती विन्दुको शल्यक्रिया गरिएको थियो ।
स्वास्थ्य शिविरको उद्देश्य समुदायमा आँखासम्बन्धी समस्या पहिचान गर्दै निःशुल्क परामर्श तथा उपचार सुविधा उपलब्ध गराउनु रहेको हस्पिटलले जनाएको छ। दृष्टि विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखाको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेका थिए। पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् । आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नब दृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर, धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दे आएको जनाएको छ । परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुरदष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै विद्यार्थीहरूमा उक्त रोग देखिन थालेपछि अस्पतालले विभिन्न जिल्लाका विद्यालयहरूमा समेत आँखा शिविर गरी परीक्षणलाई तीव्रता दिएको दृष्टि विशेषज्ञ राकेश थापाले बताएका छन् । यस्तै वृद्ध व्यक्तिहरूमा मोतिबिन्दुको समस्या बढी देखिने गरेको अस्पतालले जनाएको छ । उमेर बढेसँगै रोगको जोखिम बढ्ने भएकाले अस्पतालले विभिन्न जिल्लाका समुदायहरूमा आँखा शिविर सञ्चालन गरी परीक्षणलाई तीव्रता दिएको र आवश्यक बिरामीहरूलाई निःशुल्क मोति बिन्दु शल्यक्रिया प्रदान गर्दै आएको दृष्टि विशेषज्ञ राकेश थापाले बताएका छन् । स्थानीय बासिन्दाहरूले यस्ता शिविरले ग्रामीण क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। हस्पिटलले विगत देखी नै निःशुल्क शिविरहरू सञ्चालन गदै आइरहेको छ भने आगामी दिनमा पनि यस्ता निःशुल्क शिविरहरू सञ्चालन गर्ने योजना बनाइरहेको जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार