विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराट चोकमा आयोजित चौथो संस्करणको ‘विराट एक्स्पो’मा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
एक्स्पो अवलोकनका लागि आउनेहरूलाई ट्राफिक सचेतना प्रदान गर्ने गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार मेलाको अवलोकनका लागि आउनेहरूलाई ट्राफिक सचेतना प्रदान गर्नुका साथै ट्राफिक जनचेतनामूलक पर्चा वितरण गर्ने गरिएको छ ।
जनचेतनामूलक सन्देश प्रवाह गर्नकै लागि एक्स्पोमा ट्राफिक प्रहरीको छुट्टै स्टल राखिएको छ । स्टलमार्फत ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनका बारेमा सार्वजनिक हिसाबले सन्देश प्रवाह गरिरहेको छ ।
एक्स्पो यही माघ ३० गतेबाट सुरु भएको हो । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला फागुन १० गतेसम्म चल्ने छ ।
एक्स्पोका संयोजक भोलेश्वर दुलालले सुन्दरहरैँचाका विभिन्न स्थानमा नमुना सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
एक्स्पोको आम्दानीबाट सुन्दरहरैँचामा नमुना सार्वजनिक शौचालय निर्माण गरिने उनको भनाइ छ । यसअघि २०६६, २०७३ र २०७६ सालमा एक्स्पो आयोजना गरिएको थियो ।
त्यहाँबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएर सञ्चालनमा छन् । २ वटा निर्माणको अन्तिम चरणमा रहेको दुलालले बताए ।
उनका अनुसार अन्य ४ वटा सार्वजनिक शौचालय निर्माणको तयारी छ । एक्स्पोमा १ सय ९४ वटा स्टल रहेको रहेको दुलालले बताए ।
उनका अनुसार कृषि, उद्योग तथा पर्यटनलगायतका आर्थिक एवं औद्योगिक क्रियाकलापको अभिवृद्धि गर्ने र नवीनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरी दिगो स्वरोजगार सिर्जना गर्ने एक्स्पोको उद्देश्य छ ।
प्रतिक्रिया