काठमाडौं। नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ। नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे।
खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए। उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो। जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए।
खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे।
त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए। अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे।
नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे।
प्रतिक्रिया