विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा

शुक्रबार, ०९ फागुन २०८१
विराटनगर : बालबालिकाको समग्र विकास र सुरक्षित हेरचाहका लागि विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। आधुनिक सुविधासहित स्थापना गरिएको यस डे केयर केन्द्रले बालबालिकालाई सिकाइ, खेलकुद, र सिर्जनात्मक गतिविधिहरूको समन्वयमा विकसित गर्ने उद्देश्य राखेको छ। ‘किडोपिया स्टुडियो’ ले इनडोर तथा आउटडोर खेलक्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण कोठा, आईटी तथा आर्ट र क्राफ्ट स्टुडियोजस्ता सिर्जनात्मक गतिविधिहरू उपलब्ध गराएको छ। साथै, बच्चाहरूको तार्किक सोच र समस्या समाधान क्षमताको विकासका लागि ब्रेन गेम्स तथा पजल्सको विशेष व्यवस्था गरिएको छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजन उपलब्ध गराइनेछ भने आकस्मिक अवस्थामा प्राथमिक उपचारको सुविधा पनि प्रदान गरिनेछ। साथै, पूर्ण निगरानी प्रणालीसहितको गेटेड सेक्युरिटीले बालबालिकाको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ। स्टुडियोमा अनुभवी प्रशिक्षक र प्रशिक्षित स्टाफले बच्चाहरूलाई खेल्दै-खेल्दै सिकाइमा अभिप्रेरित गर्नेछन्। अभिभावकहरूको व्यस्त दैनिकीलाई ध्यानमा राख्दै यो सुविधा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म, हप्ताको सातै दिन सञ्चालनमा रहनेछ। विराटनगर- १० मा अवस्थित यस स्टुडियोले अभिभावक र बालबालिकाका लागि सुरक्षित, शिक्षणमैत्री र मनोरञ्जनात्मक वातावरण प्रदान गर्ने विश्वास गरिएको छ। ‘किडोपिया स्टुडियो’ को उद्घाटनसँगै विराटनगरले बालबालिकाको शिक्षण र समग्र विकासमा एक नयाँ अध्याय प्रारम्भ गरेको बताईएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार