घन प्रहारबाट वृद्ध दम्पतीको हत्या, तालिमप्राप्त कुकुरद्वारा अनुसन्धान

आइतबार, ११ फागुन २०८१
प्यूठान : प्यूठानको माण्डवी गाउँपालिका–२ रातमाटेमा आफ्नै घरभित्र मृत भेटिएका दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलेको छ। शनिबार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार घरभित्रै मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूलाई घनले प्रहार गरेर हत्या गरिएको पुष्टि भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए। डिएसपी बस्यालका अनुसार हत्यामा प्रयोग भएको घन घटनास्थलदेखि करिब ५० मिटर पूर्वतर्फ रगत लागेको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी बोलाउन गएका थिए। लगातार ढोका ढकढकाउँदा समेत कुनै प्रतिक्रिया नआएपछि उनीहरूले ढोकाबाट चिहाएर हेर्दा दम्पती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक दम्पतीको शरीर विशेषगरी टाउकोमा गम्भीर चोटका गहिरा घाउहरू छन्। घटनाको अनुसन्धानलाई तीव्र पार्न भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याइएको छ भने शंकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको डिएसपी बस्यालले जानकारी दिए। डिएसपी बस्यालका अनुसार उक्त घरमा रामबहादुर परियार र उनकी श्रीमती मात्र बस्दै आएका थिए। उनीहरूका चार छोराहरू भारतमा छन् भने दुई छोरीहरू विवाहपश्चात दाङमा बस्दै आएका छन्। प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार