विराटनगर । मोरङको बूढीगंगामा बुधबार बिहानका राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारीर मोटरसाइकल एकआपसमा ठोक्किएर बिहान २ः३० बजेतिर दुर्घटना भएको हो । हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ३ः३० बजेतिर मृत्यु भएको लम्सालले बताए ।
दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी दुहबी–११ की ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया