इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्सस बैङलोरले सानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा बैङलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दा विराट कोहली र फाप डु प्लेसिसले उत्कृष्ट साझेदारी गरे ।
चिन्नास्वामी स्टेडियममा घरेलु टोली बैङलोरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । मुम्बईले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । खराब सुरुवात गरेको मुम्बईले २० रनमा तीन विकेट गुमाएको थियो ।
कप्तान तथा ओपनर रोहित शर्मा आकाश दिपको बलमा मात्र एक रनमा पभेलियन फर्किए । इशान किशन १० र क्यामरुन ग्रिन ५ रनमा मैदान बाहिरिएपछि मुम्बई दबाबमा आएको थियो । सूर्यकुमार यादवले पनि १५ रन जोडे । तिलक बर्माले ४६ बलमा अविजित ८४ रन बनाएपछि मुम्बई सम्हालिएको हो ।
जवाफमा बैङलोरले २२ बल अगावै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरेका थिए । डु प्लेसिस ४३ बलमा ७३ रन बनाउदै आउट भए ।
कोहली ८२ रनमा अविजित रहे । ४९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । दिनेश कार्तिक भने डक आउट भए । ग्लेन म्याक्सवेल १२ रन बनाँउदै अन्तिम समयसम्म क्रिजमा रहे । अर्सद खान र ग्रिनले एक - एक विकेट लिए ।
प्रतिक्रिया