मोइन अलीको सशक्त बलिङमा लखनउविरुद्ध चेन्नाईको जित

मंगलबार, २१ चैत्र २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंसले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । जारी सिजनमा चेन्नाईको यो पहिलो जित हो । चेन्नाईस्थित चिदमबरम स्टेडियममा भएको खेलमा लखनउले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । चेन्नाईले २० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय १७ रन बनायो । रितुराज गायकवाड र डेभोन कनवेले पहिलो विकेटका लागि १ सय १० रनको साझेदारी गरेका थिए । गायकवाडले ३१ बलमा ५७ रनको योगदान गरे । कनवे ४७ रनमा आउट भए । शिभम् दुबेले २७, मोइन अलीले १९ र अम्बाती रायडुले अविजित २७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी १२ रनमा मैदान बाहिरिएका थिए । मार्क उड र रवि बिसोनीले तीन-तीन विकेट लिए । जवाफमा लखनउले पुरै ओभर खेलेर सात विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो । ओपनर कप्तान के एल राहुल र काइल मेयर्सले उत्कृष्ट सुरुवात दिलाएका थिए । मेयर्सले अलीको बलमा आउट हुन अघि ५३ रन बनाएका थिए । त्यसपछि लखनउले लगातार दुई विकेट गुमायो । दिपक हुड्डा २ र राहुल २० रनमा पभेलियन फर्किए । दुवैको विकेट अलिलेनै लिएका हुन् । क्रुनाल पान्डेया ९ र मार्कस स्टोनिस २१ रनमा मैदान बाहिरिए । निकोलस पुरनले ३२ र आयुस बडोनीले २३ रन बनाउँदै इनिङस् सम्हाल्ने प्रयास गरेका थिए । तर अलीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिएपछि सफल भएनन् । तुसार देशपान्डेले दुई विकेट लिए । इंग्ल्यान्डका बेन स्टोक्सले पनि एक ओभर बलिङ गरेका थिए । लखनउको दुई खेलमा यो पहिलो हार हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार