हराएको बाख्रो खोज्न गएकी १८ वर्षीया अनामिकाको करेन्ट लागेर मृत्यु

आइतबार, २५ फागुन २०८१
विराटनगर । हराएको बाख्रो खोज्न गएकी मोरङको मिक्लाजुङकी १ युवतीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो । अनामिकाको बाख्रो शनिबारदेखि नै हराएको थियो । चराउन लगेको बाख्रो हराएपछि हजुरबुवा धनवीर राईलाई लिएर उनी खोज्न निस्किन् । खोजी गर्दै जाने क्रममा बिजुलीको पोलमुनि बाख्रो मरिरहेको देखिन् । मरेको बाख्रोलाई तान्ने क्रममा करेन्ट लागेर अनामिकाको घटनास्थलमै मृत्यु भएको डीएसपी जोशीले बताए । उनका अनुसार अनामिकाकै बारी हुँदै लगिएको १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रो मरेको रहेछ,’ उनले भने, ‘बाख्रोलाई तान्न खोज्दा युवतीको पनि ज्यान गएको पत्ता लाग्यो ।’ मृत बाख्रोलाई तान्ने क्रममा अनामिकालाई दिउँसो १ः३० बजेतिर करेन्ट लागेको डीएसपी जोशीले बताए । अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए । तर, हजुरबुवा भने सकुशल रहेको प्रहरीले जनाएको छ । ‘नातिनीलाई जोगाउन जाँदा हजुरबुवालाई पनि सामान्य करेन्ट लागेछ । तत्काल जोगिन सकेकाले अवस्था सामान्य छ,’ प्रहरीले भन्यो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोली भर्खरै घटनास्थल पुगेको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाने प्रहरीको तयारी छ । डीएसपी जोशीले घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार