स्ववियू निर्वाचन : जनतामा भोट हाल्ने ४५ सय विद्यार्थीको नामावली सार्वजनिक, अनेरास्ववियुले नमान्ने

आइतबार, २५ फागुन २०८१
इटहरी : आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि जनता बहुमुखी क्याम्पस इटहरीले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन २३ गते नै सार्वजनिक गर्नुपर्ने तालिका भए पनि विभिन्न कारणले सरेको र आज नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार ४ हजार ५ सय ४९ जना विद्यार्थीले भोट हाल्न पाउने छन् । खास गरी विद्यार्थी सङ्गठनहरूबिचको विवादका कारण मतदाता नामावली प्रकाशनमा ढिलाइ भएको थियो । क्याम्पसमा नेपाल विद्यार्थी संघ सहित केही सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालयले जारी गरेको स्ववियू निर्देशिका अनुसार माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूको मात्र नामावली प्रकाशन गर्नुपर्ने बताउँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सहितका सङ्गठनहरूले क्याम्पसमा फागुन १५ गते सम्म भर्ना भएका विद्यार्थीले मत हाल्न पाउनुपर्ने माग राखेका थिए । क्याम्पसले भने, फागुन १५ गतेपछि मात्र भर्ना स्थगित गरेको थियो । निर्वाचन समितिका संयोजक यादव भन्छन्,‘बाहिर के विरोध भइरहेको भन्दा पनि हामीले निर्देशिकालाई आधार बनाएर काम गरेका हौँ । क्याम्पसमा पठनपाठन र स्ववियु निर्वाचन फरक कुरा हो ।’ अनेरास्ववियुले नमान्ने, अध्यक्षका आकाङ्क्षी नै परेनन् स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अध्यक्ष पदका लागि एमाले निकट विद्यार्थीको संगठन अनेरास्ववियुले हेमराज खड्का(आदित्य) लाई अध्यक्ष पदको उम्मेदवार बनाउने गरी तयारी गरिरहेको थियो । तर खड्काको नाम समेत मतदाता नामावलीमा नपरेपछि अनेरास्ववियु मतदाता नामावलीलाई नमान्ने भएको छ । खड्काको भर्ना फागुन १५ गते मात्रै भएको क्याम्पस श्रोत बताउँछ । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सन्तोष तिम्सिनाले अहिले सार्वजनिक भएको नामावलीलाई नमान्ने बताए । ‘विद्यार्थीले भर्ना हुँदै स्ववियू कल्याणकारी कोषमा समेत पैसा जम्मा गरिसकेको हुन्छ अनि क्याम्पसले कर्तव्य चैँ पुरा गर्ने अधिकार चैँ नदिने भन्ने हुन सक्दैन । उनले भने, ‘हामीले पुनः मतदाता नामावली निकाल्नका लागि अनुरोध गरिसकेका छौँ ।’ मतदाता नामावली प्रकाशनको विरोध गर्दै अनेरास्ववियुका विद्यार्थी नेताहरूले प्रकाशित नामावली समेत च्यातेका छन् । मतदाता नामावली च्यात्ने कार्यलाई त्रिविको निर्देशिका विपरीत चुनावी मैदानमा होमिएको आरोपसमेत लागेको छ । नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराई लेख्छन् ‘मतदाता नामावलीमा दाबी विरोधको समय हुँदा हुँदै यसरी उत्रनु खेदपूर्ण छ ।’ यसरी हेर्दा क्याम्पसमा निर्वाचनको प्रक्रियामा नै अवरोध हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार