रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले होली पर्वलाई मर्यादित, सभ्य, र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।
प्रहरीले कोही कसैको इच्छाविपरीत रंग नदल्न, अबिर हाल्न, लोला हान्न, हो-हल्ला नगर्न तथा अमर्यादित र गैरकानूनी गतिविधि रोक्न अनुरोध गरेको छ।
साथै, आफन्त वा आत्मीय सम्बन्ध भएका व्यक्तिहरूसँग मात्र होली खेल्न, मादक पदार्थ तथा कुनै पनि नसालु पदार्थ सेवन नगर्न, अश्लील गीतहरू नबजाउन, ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा बाजा वा माइक प्रयोग नगर्न आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी दिपक कुमार रायका अनुसार कसैलाई जबरजस्ती रङ, लोला, मोबिल, मोसो, केमिकल वा फोहरपानी लगाएमा कानुनी कारबाही गरिनेछ।
महिला, बालबालिका, तथा यात्रामा निस्किएका व्यक्तिहरूलाई होलीको नाममा हैरानी दिने गतिविधि भए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ। मादक पदार्थ सेवन गरी हुलहुज्जत वा झैझगडा गर्ने कार्य नगर्न अनुरोध गर्दै प्रहरीले यस्ता घटनाबारे जानकारी गराउन अपिल गरेको छ।
फागु पूर्णिमाका दिन मनाइने होली असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। यस वर्ष फाल्गुन २९ गते पहाडी जिल्लाहरूमा र चैत्र १ गते तराई क्षेत्रमा होली मनाइँदैछ।
प्रतिक्रिया