विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले नजिकिँदै गएको रङ्गहरूको पर्व होलीमा कानुन विपरीतका गतिविधि नगर्न आग्रह गरेको छ । सूचना जारी गर्दै अवाञ्छित गतिविधि नगर्न सबैलाई प्रशासनले सचेत गराएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले होलीलाई सभ्य, भव्य र सु–संस्कृत रूपमा मनाउन अनुरोध गरेका छन् । पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बद्र्धन र प्रवर्धन गर्नुपर्नेमा उनको जोड छ ।
तर, एक अर्काको इच्छा विपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्नेतर्फ उनले सबैलाई सचेत गराएका छन् । मोरङ प्रशासनले इच्छा विपरीत जबरजस्ती रङ्ग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्यलाई गैर कानुनी भनेको छ ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन नचलाउन, सार्वजनिक स्थानहरूमा हो–हल्ला नगर्न, चर्को आवाजमा बाजा (डिजे) नबजाउन प्रजिअ यादवले सबैलाई आग्रह गरेका छन् । उनले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन एवं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न अनुरोध गरेका छन् ।
होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्ण हिसाबले मनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग गर्न प्रशासनले सार्वजनिक अपिल गरेको छ । तर, रोक लगाइएका कार्य र अवाञ्छित गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी यादवले दिए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले रमाइलो गर्ने नाममा अरूलाई असर पु¥याउन नहुने बताए । ‘होली पर्वलाई मर्यादित र हर्षोल्लासपूर्ण बनाउन सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘कोही कसैले कानुन विपरीतका गतिविधि गरेमा कारबाही हुन्छ ।’
एसपी चिमरियाले होली लक्षित विशेष सुरक्षा योजना लागू गरिने जानकारी दिए । कुनै ठाउँमा गैर कानुनी अवाञ्छित गतिविधि भएमा तत्काल सूचना दिएर सहयोग गर्न पनि उनले आह्वान गरेका छन् । यस वर्ष फागुन २९ गते पहाडको र चैत १ गते तराईको होली परेको छ ।
प्रतिक्रिया