झापाको सामुदायिक वनमा जंगली हात्ती मृत फेला

विहीबार, २९ फागुन २०८१
झापा : झापाको जलथलमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। शव सडिसकेको अवस्थामा रहेकोले हात्ती केही दिनअघि नै मरेको अनुमान गरिएको छ। कचनकवल गाउँपालिका-७ स्थित पाथीभरा सामुदायिक वनमा मृत हात्ती भेटिएको हो। घटनाबारे जानकारी पाएपछि सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय झापालाई सूचित गरेको छ। डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकका अनुसार हात्ती कुन कारणले मरेको भन्ने खुल्न बाँकी छ। मृत हात्ती वरिपरि तीनदेखि चार वटा जंगली हात्ती बसेका कारण त्यस क्षेत्रमा पुग्न कठिन भइरहेको छ। यद्यपि, बिहानैदेखि वन कार्यालयका कर्मचारीसहितको टोली घटनास्थलमा परिचालित गरिएको छ। झापामा आर्थिक वर्ष २०६७/०६८ देखि २०८०/०८१ सम्म हात्तीको आक्रमणबाट ६८ जनाको मृत्यु भइसकेको छ। सोही अवधिमा २१ वटा जंगली हात्ती पनि मृत फेला परेका छन्। मृत्यु हुनेमध्ये आठ जना गैरनेपाली नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार