इलाममा चौथो साहित्य महोत्सव सुरु

शुक्रबार, ०१ चैत्र २०८१
इलाम : इलाममा चौथो इलाम साहित्य महोत्सव सुरु भएको छ। "पर्यटनका लागि साहित्य" भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरेका हुन्। महोत्सवको उद्घाटन इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णु लिम्बु दाहालले गरेका छन्। महोत्सवको उद्देश्य इलामको साहित्यिक पहिचानलाई देश-विदेशमा फैलाउनुका साथै पर्यटन प्रवर्द्धन गर्नु रहेको छ। नेपाल, भारत, बङ्गलादेश लगायत विभिन्न देशका चर्चित साहित्यकारहरूको उपस्थिति रहेको यस महोत्सवमा विभिन्न विषयमा बहस तथा छलफलहरू हुनेछन्। पहिलो दिन जेएनयूका प्रा. आनन्दकुमारको 'कि नोट स्पिच' सम्पन्न भएको छ। हाङयुग अज्ञातले ‘गाउँको सौन्दर्य’ विषयमा, टीकाराम यात्री, आनी छोइङ डोल्मा र मीन डोल्माले 'कला र अध्यात्म' विषयमा छलफल गर्नेछन्। दीपक सापकोटा र प्रकाश सपुतले ‘विभेदविरुद्धका आलाप’ प्रस्तुत गर्नेछन् भने ‘कविताको पहिचान’ विषयमा फणीन्द्र संगम, श्रवण मुकारुङ, मिश्र वैजयन्ती र अभय श्रेष्ठबीच बहस हुनेछ। दोस्रो दिन 'इलामे इलमः पेशा र पैसा' विषयमा टीका क्षेत्री, डा. योगेन्द्रमान श्रेष्ठ, कृष्ण पौडेल र गायत्री थेगिमले छलफल गर्नेछन्। ‘डिजिटल दुनियाँमा सर्जक’ मा दीपा दाहाल, शंकर तिवारी, कृष्ण बराल र शैलेन्द्र अधिकारी सहभागी हुनेछन्। यसैगरी, ‘आशा र निरासाको राजनीति’ विषयमा बसन्त बस्नेत, कृष्ण खनाल, नारायणकाजी श्रेष्ठ, गगन थापा र गोकर्ण विष्टबीच बहस हुनेछ। महोत्सवको अन्त्यमा नवराज पराजुलीको ‘इलाम कविता कन्सर्ट’ पनि आयोजना गरिनेछ। साहित्य महोत्सवबाट इलामको साहित्यिक पुनर्जागरणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार