विराटनगर : जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका थुनुवाको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।
कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको शनिवार मृत्यु भएको हो । देवान अदालतले धरौटीबापत मागेको २५ हजार रुपैयाँ तिर्न नसकेर कारागार चलान भएका थुनुवा हुन् ।
हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि गत फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचाररत देवानको उपचारकै क्रममा दिउँसो मृत्यु भएको ढुङ्गेलले बताए ।
आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङले देवानसँग धरौटीबापत २५ हजार रुपैयाँ लिएर मुद्दाको पुर्पक्ष गर्न गत मङ्सिर २३ गते आदेश दियो । अदालतले मागेको धरौटीबापतको रकम बुझाउन नसकेपछि उनलाई थुनामा राख्न कारागार चलान गरिएको हो ।
मुद्दाको किनारा लागिसकेको छैन । मुद्दा विचाराधीन रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको जेलर ढुङ्गेलको भनाइ छ । ढुङ्गेलका अनुसार आफन्त एवं परिवारका सदस्य सम्पर्कमा आइसकेकाले प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउने तयारी भइरहेको छ ।
देवानलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको हुनसक्ने उनले बताए ।
प्रतिक्रिया