इटहरी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले ११ वर्षपछि सुनसरीबाट पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने ३७ वर्षीय शम्भु सिक्तेन राईलाई इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक राजन खड्काको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
धनकुटा जिल्ला अदालतले २०७० साल पुस २४ गतेको फैसलामा उनलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो।
राई लामो समयदेखि फरार रहँदै आएका थिए। उनलाई २०८१ चैत ३ गते बिहान ९ बजे बराहक्षेत्रमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याई कानुनी प्रक्रिया पूरा गरी सुनसरी जिल्ला अदालत इनरुवामा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया