विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।
नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे ।
“म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,” उनले थपे, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न सकेको छैन ।”
नेता कोइरालाले नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गरे । श्रीलंका र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए ।
“तपाईंहरु आजैबाट नेपाल श्रीलंका हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, “श्रीलंका र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।”
कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, “कांग्रेस ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन । अझै पनि संसदीय लोकतन्त्रको रक्षाका लागि कांग्रेस सक्रिय हुनुपर्छ ।”
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औंल्याए । उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे ।
पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेललगायतले ठूला पार्टीहरुमा शुद्धीकरण आवश्यक रहेको बताए ।
प्रतिक्रिया