इटहरी । संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी बनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु भइरहेका छन् ।
तर वास्तविक मजदुरहरु श्रमिक दिवसका दिनपनि काममै व्यस्त छन् । उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील सामाजिक सवाल पनि हो भन्ने स्पष्ट हुन्छ ।
सुनसरीस्थित रमपम उद्योगमा कार्यरत अशोक कुमार साह भन्छन्,‘गरिब मान्छेले गरेर खाने पेसा नै मजदुरी हो । नेपालमा मजदुरलाई पेलान हुन्छ । काममा मापदण्ड र सम्मान छैन् । कसैले हामीलाई सम्मान गर्दैन, काम सक्दासम्म खटाइन्छ ।’
उनले कामदारको योग्यताअनुसार मात्र काम दिनुपर्ने र समयमै पारिश्रमिक दिनुपर्नेमा जोड दिएका छन् । रमपम उद्योगको तर्फबाट उनले सम्पूर्ण मजदुरहरूलाई शुभकामना पनि दिएका छन् ।
यस्तै अनन्त इँटा उद्योगमा कार्यरत सरस्वती ऋषिदेव दैनिक तीनसय रुपैयाँमा काम गर्छिन् । उनको पारिश्रमिकले घर खर्च धान्नै मुस्किल हुन्छ । ‘जति पैसा कमाउँछु, त्यत्तिकै खर्च हुन्छ,’उनी भन्छिन् । उनी मोरङको कर्सिया गाउँबाट सुनसरी आएर काम गरिरहेकी छन् । मजदुर दिवसमा समेत काम गर्नुपरेको उल्लेख गर्दै उनी भन्छिन्,‘काम नगरी खान पाइँदैन । हाम्रो लागि दिवस मनाउने भन्दा पनि पेट पाल्नुपर्ने बाध्यता बढी हो ।’
ऋषिदेवको गुनासो श्रमिकहरूप्रति सरकारले गर्ने बेवास्ताप्रति पनि रहेको छ । मजदुरी गर्नलाई काम पनि नपाइने अवस्था रहेको उनले बताइन् ।
-(7)_BNwkrhjyWO.jpg)
सुदर्शन सेक्युरिटी इटहरीका सुरक्षा गार्ड विवेकराज चौधरीको धारणा स्पष्ट छ,‘काम सानो ठुलो हुँदैन । काम गरेरै मानिसले जीवन अघि बढाउँछ । तर यहाँ कामको सम्मान छैन्,’उनी थप्छन्, ‘कामलाई इज्जत दिनुपर्छ । पढेको होस् या नपढेको सबैले कामलाई बराबर सम्मान गर्नुपर्छ । श्रमको कदर गरियो भने मात्रै देश समृद्ध बन्छ ।’
उनले काम नै मानिसको जीवन रहेको स्पष्ट पारेका छन् । उनी थप्छन्,‘श्रमिकका लागि नेपालमा आवश्यक वातावरण नै रहेको छैन । अर्कोतर्फ श्रमको सम्मान पनि जरुरी रहेको छ ।
यता, ट्रेड युनियन कांग्रेस, कोशी प्रदेशका सचिव उमानाथ आचार्य नेपालमा अझै पनि श्रमिकहरूलाई सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा, न्यूनतम ज्यालाको कार्यान्वयन जस्ता विषयमा समस्या रहेको बताउँछन् ।
‘कानुन भए पनि कार्यान्वयनको पक्ष कमजोर छ ।’ उनी थप्छन्,‘श्रमिकको आवाजलाई नीतिमा रूपान्तरण गर्न मजदुर दिवसलाई जागरण दिवसका रूपमा लिनुपर्छ ।’
-(3)_xj6D9mTgNz.jpg)
आचार्यले श्रमिकको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्नका लागि सरकार लचिलो बन्नुपर्ने र उद्योगीहरूले समेत आबद्धता गराउनका लागि अग्रसर बन्नुपर्ने बताए । उनले भने, ‘उद्योगीले श्रमिकको प्रोत्साहन गरेमा आफ्नो उत्पादकत्व वृद्धि हुने कुरामा जोड दिनुपर्दछ ।’
अन्तर्राष्ट्रिय मजदुर दिवस श्रमिकहरूको अधिकारको स्मरण मात्र नभइ, उनीहरूको योगदानको कदर गर्ने दिन हो । तर वास्तविकता अझै पनि विभेद, अवमूल्यन र पीडामा आधारित छ । आजको दिन सरकार, नीति निर्माता, उद्योगपति र स्वयं नागरिकले आत्म मूल्याङ्कन गर्नुपर्ने समय हो । दिवस केवल बिदा होइन, श्रमिक सम्मानको चेतनाको दिन हो । श्रमिकका व्यवहारमा परिवर्तन ल्याउन सकियो भने मात्र यो दिवस सार्थक बन्न सक्छ ।
प्रतिक्रिया