काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।
दुवै सदनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुनेछ ।
सरकारले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल आज पनि जारी रहने संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । बजेटमाथिको छलफल हिजो (सोमबार) देखि सुरु भएको हो ।
बजेट प्रस्तुत पछि प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएकाले आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेलगायतले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।
नेपाली भूमि कालापानीलाई बंगलादेश जाने मार्गसँग साटफेर गर्ने विषयमा प्रतिपक्षी दलले प्रधानमन्त्री दाहालको जवाफ माग गरेपछि बजेटमाथिको छलफल प्रभावित भएको थियो । यस विषयमा हिजोको बैठकमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएपछि बजेटमाथिको छलफल जारी रहने भएको हो ।
Discussion about this post